१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्पतालका उपकरणहरुको नियमित अनुगमन गर्नुपर्छ : सांसद बाँस्कोटा


156
Shares

काठमाडौं । नेकपा(एमाले)का सांसद) गोकुलप्रसाद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको अनुगमन गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको नियमित रुपमा अनुगमन गर्नुपर्ने बताउनुभएको हो । उहाँले अस्पतालले खरिद गर्ने तर प्रयोगको अवस्थाको बारेमा त्यति ध्यान नदिने भन्दै उपकरणहरुको अनुगमन आवश्यक भएको बताउनुभयो ।

सांसद बाँस्कोटाले सरकारी अस्पतालहरुले नै बिरामीको रोग पहिचानको नाममा बाहिरी अस्पतालहरुमा पठाउने गरेका कारण बिरामीहरु मार्कामा परेका बताउनुभयो । उहाँले अस्पतालको उपकरणहरुको अवस्था सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै सांसद बाँस्कोटाले दशैँको समयमा कृतिम अभाव गराइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्योगीले पैसा लिएर वास्तविक उखु किसानलाई चाहीँ नदिने गरेको भन्दै रकम वास्तविक किसानले नै पाउनेगरी कार्ड वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले चिनीमा पाउने सहुलियतमा समेत सिन्डिकेट भइरहेको भन्दै सो सिन्डिकेटलाई तोड्नुपर्ने बताउनुभयो ।

त्यस्तै, बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद अच्युत मैनालीले अनुदानको मल वितरणमा समस्या भएको भन्दै सो समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालहरुले आवश्यकताको आधारमा नभइ अतिरिक्त लाभको उद्देश्यले उपकरण किन्दा बेवारिसे भइरहेको बताउनुभयो । सांसद अच्युत मैनालीले सरकारी संस्थानहरुलाई प्रतिष्पर्धी बनाउनुपर्ने पनि बताउनुभयो ।