१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं महानगरपालिका र अभियन्ता ईः बिच सहमति


3.848k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले जवाफदेहीताको माग राखेर नौ दिनदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः सँग चार बुँदे सहमति गरेको छ ।

बुधबार बेलुकी सहमति भएसँगै अभियन्ता ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा सडक व्यवसायीलाई निश्चित समय तोकेर व्यापार गर्न दिनुपर्ने मुख्य माग ईः को थियो । सोही माग राखेर अभियन्ता ईः ले १ सय ९९ घण्टा महानगरको गेटमा उभिएर शान्तिपूर्ण बिरोध गरेका थिए ।

सहमतिअनुसार कानूनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्नेछ ।

यसैगरि फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई फिर्ता गरिनेछ ।

अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न आठ सदस्यीय समिति गठन गरिने भएको छ ।

उक्त समितिमा महानगरपालिकाले तोकेका तीन जना, अभियन्ता ईः का तर्फबाट दुई जना, भौतिक पूर्वाधार मन्त्रालयका तर्फबाट एक जना, सहरी विकास मन्त्रालयका तर्फबाट एकजा र ट्राफिक प्रहरीको तर्फबाट एकजना प्रतिनिधि रहनेछन् ।