१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारको सुरक्षा आश्वासनप्रति चिकित्सकहरु भएनन् ढुक्क


312
Shares

काठमाडौं । चिकित्सकहरुमाथि पटक पटक भएको दुव्र्यवहारपछि सडक आन्दोलनमा उत्रिएका चिकिस्तक र स्वास्थ्यकर्मीहरु उधारोमा आन्दोलन नरोक्ने अडानमा छन् । सुरक्षित कार्यस्थलको माग गर्दै आन्दोलनमा होमिएका चिकित्सकहरुलाई सरकारले वार्ताबाटै समस्या समाधान गर्ने भन्दै आन्दोलन रोक्न आग्रह गरे पनि चिकित्सकहरु आश्वस्त हुन सकेका छैनन् ।

पोखराको मणिपाल अस्पतालमा हुलदंगासहितको आक्रमण भएपछि गृह मन्त्रालयले गत बुधबार नै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेहरुलाई कारवाही गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ । प्रहरीले मणिपाल अस्पतालमा हुलदंगा तथा कुटपिट गर्ने केहीलाई नियन्त्रणमा पनि लिएको छ । तर, चिकित्सकहरुले भने गृहको निर्देशन र आक्रमणकारीहरुको गिरफ्तारीले मात्रै आश्वस्त हुने अवस्था देखिएको छैन ।

मणिपाल अस्पतालको घटनापछि सडकमै उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले राजधानीमै दैनिक प्रदर्शन गरिरहेका छन् । चिकित्सकहरु आन्दोलनमा उत्रीएपछि अस्पतालहरुमा सबै सेवा नियमित हुन सकेको छैन । कतिपय अस्पतालहरुमा ओपीडी सेवासमेत अवरुद्ध छ । चिकित्सकहरुको समस्यामाथि छलफल गर्न संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शुक्रबार सरोकारवालाहरुलाई डाक्यो । समितिको छलफलमा सहभागी स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अस्पतालहरुमा प्रहरी खटाउने निर्णय भईसकेको भन्दै चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो ।

छलफलमा गृहसचिव दिनेश भट्टराईले कुटपिट र दुव्र्यवहार गर्नेहरुलाई नियन्त्रणमा लिने तथा सुरक्षा दिन नसक्ने सुरक्षा अधिकारीलाई निलम्वन गर्ने काम भईसकेको भन्दै आन्दोलन नगर्न आग्रह गर्नुभयो ।

चिकित्सकहरु भने आन्दोलन फिर्ता लिन तयार देखिएनन् । कुटपीट गर्नेहरुलाई धरौटीबिना जेल पठाउने व्यवस्था गर्नुपर्ने अडान लिएका छन् । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले दण्डहीनतालाई प्रश्रय दिने विद्यमान व्यवस्थामा सुधार हुनुपर्ने भन्दै कुटपीटमा संलग्न प्रहरी मात्र नभई प्रहरी प्रशासन परिचालन गर्ने सर्वोच्च व्यक्तिदेखि तल्लो तहसम्मका सबै दण्डित हुने ग्यारेन्टी गर्नुपर्ने बताउनुहुन्छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले चिकित्सकमाथि कुटपिट तथा स्वास्थ्य संस्थामा हुने आक्रमणमा दण्ड सजायको व्यवस्था गरे पछि त्यसको कार्यान्वयन हुन सकेको छैन । त्यसमाथि चिकित्सकमाथि कुटपिट गर्नेहरु सामान्य झै झगडाको कसुरमा झैं मुक्त हुने भएकाले पनि चिकित्सकहरु आश्वस्त हुन सकेका छैनन् ।