
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्कदै हुनुहुछ ।
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभएको थियो ।
न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।
चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता र चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाउनुभएको थियो ।
त्यस्तै, प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गर्नुभयो । यस क्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्