
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण पूर्णरूपमा सफल भएको दाबी गर्नुभएको छ ।
मन्त्री साउदले आर्थिक र कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको तर्क गर्नुभयो । चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्वपूर्ण भएको उहाँको भनाई थियो । उहाँले दुई देशका बीच भएका समझदारी र सम्झौताहरू पनि नेपालको हित, आर्थिक विकासका पक्षमा रहेको बताउनुभयो ।
उहाँले चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको पनि बताउनुभयो । दुई देशबीच भएका १३ वटा सम्झौता र सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उहाँको भनाइ छ । चीन र नेपालका बीचमा परम्परागतरूपमा नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै मन्त्री साउदले अहिलेको प्राथमिकता भनेको आर्थिक पक्ष रहेकाले सरकाले त्यसैमा जोड दिएको बताउनुभयो ।
नेपालको आर्थिक विकासमा समझदारीको वृद्धि गरी आवश्यक कूटनीतिक पहल अघि बढाउनका लागि पनि भ्रमण फलदायी रहेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्