१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटनद्वारा म्यान्चेस्टर सिटी पराजित


936
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको शत प्रतिशत विजयी यात्रामा पूर्णविराम लागेको छ ।

सिजनको सातौं खेलमा म्यान्चेस्टर सिटीलाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले हराएको हो ।

वुल्भ्सलाई विजयी गराउन ह्वाङ हि चानले एक गोल गर्दा म्यान्चेस्टर सिटीका रुबेन डियासले एक आत्माघाति गोल गरेका थिए । पराजित टोली सिटीका लागि जुलियन अल्भारेजले एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले लिभरपुललाई २–१ ले हरायो । टोटनह्यामका सन ह्युङ मिनले एक गोल गर्दा लिभरपुलका जोएल माटिपले एक आत्माघाति गोल गरेका थिए । दुई खेलाडी कर्टीस जोन्स र डिएगो योटाले रातो कार्ड खाएपछि ९ जनामा समेटिएको लिभरपुलका लागि कोडी गाक्पोले एक गोल फर्काए ।

शनिबार भएको अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ४–० ले हरायो । आर्सनलका लागि बुकायो साका, मार्टिन ओडेगार्ड, काई हाभटर््ज र बेन ह्वाइटले एक एक गोल गरे । गएराति म्यान्चेस्टर युनाइटेडलाई क्रिष्टल प्यालेसले १–० ले हराउँदा न्युकासल युनाइटेडले बर्न्लेमाथि २–० को जित निकाल्यो ।

यसैगरी, एस्टन भिल्लाले ब्राइटनलाई ६–१ ले पराजित गर्दा लुटन टाउनले एभर्टनलाई उसैको मैदानमा २–१ ले पराजित गर्‍यो ।