
काठमाडौं । टोखा नगरपालिकाले आइतबारदेखि शनिबारसम्म प्रथम कर सप्ताह अभियान,२०८० सुरु गरेको छ ।
आइतबार टोखा नगरपालिका कार्यालयबाट प्रभातफेरी कार्यक्रम गर्दै असोज १४ गतेदेखि २० गतेसम्म कर सप्ताह अभियान सुरु गरेको टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले नगरपालिकाभित्र रहेर व्यापार व्यवसाय गर्ने लगायत अन्य करको दायरामा नआएकाहरुलाई करको दायरामा ल्याउन आकर्षित गरी कर शिक्षा दिनु मुख्य उद्देश्य रहेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत बिसीले गत वर्ष नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड कर संकलन गरेको बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताउनुभयो । उहाँले ३० करोड राजश्व उठाउने लक्ष्य अनुसार नगरपालिकाले ६ दिने कर सप्ताह अभियान सुरु गरेको बताउनुभयो । स्थानीय जनतालाई कर किन तिर्ने, कहाँ तिर्ने, किन तिर्नपर्छ, व्यवसाय कहाँ दर्ता गराउने जस्ता विषयमा कर शिक्षा दिएर सचेता बनाउन चाहेको बताउनुभयो ।
टोखा नगरपालिकाले सोमबारदेखि बिहीबार तीन दिन करदाताहरुको घरदैलोमा गएर करदाता शिक्षा प्रदान गर्ने भएको छ । कर सप्ताह २०८० को नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारः दिगो र पराकिलो स्थानीय कर आधार रहेको छ । १८ गते टोखा नगरपालिकाका सामुदायिक र सरकारी विद्यालयहरुमा नारा टोखा नगरपालिकाको विकास समृद्धिको आधारः दिगो र पराकिलो स्थानीय कर आधार विषयमा वक्तृत्वकला प्रतियोगिता गर्ने नगरपालिकाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्