२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमाले गण्डकी प्रदेश अधिवेशन आजदेखि


143
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ ।

देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकी अधिवेशनको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशनको उद्घाटन अघि एमालेले पोखराका विभिन्न चार स्थानबाट र्‍याली निकाल्ने तयारी गरेको छ ।

एमाले गण्डकीले हस्पिटल चोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्क गरेर चार स्थानबाट र्‍याली निकालेर अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत हुने जनाएको छ । उद्घाटन सभालाई एमालेले शक्ति प्रदर्शनका रुपमा हेरेको छ । त्यसैले उसले कास्कीका सबै पालिकाका वडाहरुमा निःशुल्क बसको व्यवस्था गरेको छ ।

अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि रहने जनाइएको छ । कास्कीबाट १ सय ४६, स्याङ्जाबाट १ सय १३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।

यसैबीच एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको छ । प्यानल बन्ने सम्भावित अवस्थालाई मध्यनजर राखेर नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको हो । गण्डकीमा पूर्व मुख्यमन्त्री द्वय पृथ्वी सुब्बा गुरुङ (पिएस) र खगराज अधिकारी (केआर) को दुई समूह छ ।