
नवलपरासी । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनुभएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा बिपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा सोमबार पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।
११० औं बिपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि यहाँ पुग्नुभएका पूर्वराष्ट्रपति यादवले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभयो । उहाँले विपीको राष्ट्रवादलाई सबैले अङ्गाल्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वराष्ट्रपति डा. यादवले अहिले नेपालीहरु परजीवी बन्दै गएको बताउनुभयो ।
अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्वराष्ट्रपति डा यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमि जस्तै बन्न थालेको उल्लेख गर्नुभयो । प्राकृतिक स्रोतहरुको चरम दोहनले भोलिका दिनमा मानव सङ्कट पर्ने बताउँदै उहाँले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्