१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छ : मन्त्री ज्वाला


117
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताउनुभएको छ ।

बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाई थियो । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले दशैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताउनुभयो । मन्त्री ज्वालाले भएको सोत र साधनको अधिकतम परिचालन गरी दशैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताउनुभयो । उहाँले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दशैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री ज्वालाले दशैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिनुभयो । उहाँले जथाभावी भाडा लिएर यात्रुहरुलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो । यात्रुहरुलाई बस भाडामा ठगिन नदिने गरी तीन वटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उहाँले बताउनुभयो । मन्त्री ज्वालाले दशैँ अघि नै यातायात क्षेत्रको आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायसँग आफूले छलफल गरिसकेको पनि बताउनुभयो ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताउनुभयो । उहाँले यात्रुहरुलाई सहज हुने गरी यातायातको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनुभयो ।

सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पुँजी नै परिचालन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले एउटै परियोजनामा अर्व बजेट विनियोजन गर्ने तर त्यसको परिचालन नहुने कुराले मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भएकोले यसतर्फ गम्भिर बन्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सापकोटाले सरकारले पुँजी परिचालन हुने गरी नीति तय गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।