
काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाललाई राष्ट्रपतिले माफी दिएको विरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा भोलि सुनुवाई हुने भएको छ ।
हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले दिएको मुद्धालाई भोलिका लागि पेशीमा चढाइएको छ । माफी विरुद्ध रीट हालेकी भारती भने आज सर्वोच्च अदालतमा तारेख बुझ्न जाने क्रममा सर्वोच्च परिसरमै ढलेकी थिइन । तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै उनी ढलेकी हुन् ।
उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी थिइन् । उनले आजदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् । रिगल विरुद्ध २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध भारती अनशन बसेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्