
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थानको विवादले चरम रुप लिएको छ ।
आइओई (ईन्सिच्यूट अफ इञ्जिनियरिङ ईन्ट्रान्स) ब्यवस्थापन र विद्यार्थी संगठनहरुको विवादका कारण बीई प्रवेश परीक्षा बोर्डका सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । शुल्क विवाद चर्किएका कारण समयमै प्रवेश परीक्षा सञ्चालन गर्न नसकेपछि वोर्डका सातै जनाले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा अध्यक्ष प्रा.डा. सुशीलबहादुर बज्राचार्य, सदस्य सह–प्रा.डा. इन्द्रप्रसाद आचार्य, सदस्य सह–प्रा.डा. संजिवप्रसाद पाण्डे, सदस्य उप–प्रा.डा किरणचन्द्र दाहाल, सदस्यसचिव बिदुर दकाल, सल्लाहकार प्रा.डा. सुरज लामिछाने र प्राध्यापक डा. हिक्मतराज जोशी रहेका छन् ।
शुल्क विवादका कारण यसअघि तय भएको परीक्षा रद्द भएकोमा स्ववियुको दबावमा प्रशासनले यही असोज २२ गतेदेखि प्रवेश परीक्षा संचालन गर्ने गरी सूचना निकालेपछि परीक्षा वोर्डका सदस्यहरुले राजीनामा दिएका हुन । प्रवेश परीक्षा बोर्डका सदस्यहरूले राजीनामा दिएपछि आइओइको प्रवेश परीक्षा पुनः स्थगित भएको छ ।
विद्यार्थी संगठनहरुको हस्तक्षेप असह्य भएको भन्दै हिजो आइओई अन्तर्गतका सवै विभागीय प्रमुखहरुले स्ववियुलाई नै आइओइ संचालन गर्न भन्दै विज्ञप्ति निकालेका थिए । आइओइले गत भदौ ५ गते बीईमा नियमिततर्फको शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएपछि विवाद बढेको हो ।
प्रतिक्रिया दिनुहोस्