१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


शिक्षकहरूसँग गरेको सम्झौता समावेश नगरी विधेयक प्रस्तुत गर्नु गलत : एमाले सांसद


208
Shares

नेकपा एमालेका सांसदहरुले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदलाई जानकारी नदिई विधेयक प्रस्तुत गर्नु गलत भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभामा विधेयकमाथि छलफलमा भाग लिँदै एमाले सांसदहरुले सरकारले विद्यालय शिक्षा विधेयकको विषयमा गरेको सम्झौता नचिन्ने बताएका हुन् । उनीहरुले सरकारले शिक्षकहरुसँग विभिन्न सम्झौता गर्ने र विधेयकमा समावेश नगरी संसदमा विधेयक पेश गरेर सरकारले संसदलाई हेप्न खाजेको आरोप लगाए । उनीहरुले विधेयक संसदले आफ्नो विवेकले बनाउन पाउनुपर्ने बताए । एमाले संसदहरुले विद्यालय शिक्षा विधेयकलाई सरकारले संविधानको भावना भन्दा विपरित सम्झौताहरु गर्दै विधेयक बनाउन लागेको आरोप लगाए ।

एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा भनेर संघीय सरकारले ऐन संसदमा पेश गरेको विधेयक गलत ट्याकबाट प्रस्तुत भएको बताउनुभयो । उहाँले संघीय शिक्षा कस्तो हुनुपर्ने भनेर २०२८ सालपछि अहिले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने गरी आजको शिक्षा कस्तो हो भन्ने स्पष्ट धारणा दिन नसकेको बताउनु भयो । सांसद भट्टराईले विधेयकको विषयमा धेरै छलफल र बहस गर्न बाँकी रहेको भन्दै सरोकारवालाहरुसँग कुनै छलफल नगरी यो विधेयक ल्याउनु गलत भएको बताउनु भयो । उहाँले विधेयकमा धेरै अस्पष्टता र कमीकमजोरी भएको सरकारले स्वीकार गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो । उहाँले गलत ढङ्गले ऐन निर्माणको प्रक्रियामा गयौं भने सरकार जिम्मेवार बन्न नसक्ने उल्लेख गर्नुभयो ।

त्यस्तै,एमालेकै सांसद रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक सबै प्रक्रिया पूरा नगरी ल्याएको बताउनु भयो । उहाँले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसद मान्न बाध्य नहुने बताउनु भयो । उहाँले संसदमा विधेयक प्रस्तुत र दर्ता गर्ने तर विधेयक संसदको भावनाबिरुद्ध बाहिर आन्दोलन भयो भनेर संसदमा विधेयक पेश गर्नु अघि सरकारले शिक्षकहरुसँग सम्झौता गर्दै हिँड्नु उपयुक्त नभएको बताउनु भयो। उहाँले विधेयक पेश गर्नुअघि नै सम्झौताका बुदाहरुलाई विधेयकमा सामेल गरेर संसदमा प्रश्तुत गर्नुपर्ने भएपनि सरकारले त्यस्तो गर्न नसकेको बताउनु भयो । उहाँले शिक्षकहरूसँग र राहतवाला शिक्षकहरुसँग सरकारले गरेको सम्झौता यो विधेयकमा कसरी कर्पोरेट हुन्छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले प्रक्रिया पूरा नगरी संसदमा पेश भएको विधेयक संसदले फिर्ता गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रको लागि विद्यालय शिक्षा विधेयक अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।