
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआईटी) सँगको सम्झौता दुई देशबीच लगानी तथा द्विपक्षीय व्यापारमा सहकार्य गर्नको लागि भएको बताउनुभएको छ ।
परिसंघका अध्यक्ष अग्रवालले परिसंघ र सिसिपिआईटी सँगको सम्झौताले नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उहाँले परिसंघको सिसिपिआईटी सँगको सम्झौताले नेपाल–चीन दुवै देशका व्यवसायिक समुदायको व्यापार लगानीको विकासका लागि सहजीकरणमा सहजता आउने अपेक्षा रहेको बताउनुभयो । उहाँले सम्झौतामा सिसिपिआईटीका दुई जना उपाध्यक्ष र दुई जना सदस्य र परिसंघका पनि दुई जना उपाध्यक्ष र दुई जना सदस्यहरु काउन्सिलको सदस्य रहने गरी नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको बताउनुभयो ।
अध्यक्ष अग्रवालले आईतबार सम्झौताको विषयमा कुरा गर्दै परिषद्ले दुई देशबीच व्यवसायिक गतिविधिलाई सु–व्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहल सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसर सिर्जना गर्न, व्यवसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवाद लगायत गतिविधि गर्न सहजता प्रदान गर्ने बताउनुभयो ।
उहाँले विगतमा प्रधानमन्त्रीको भ्रमणको समयमा मात्रै दुई देशबीच लगानी र व्यापारका विषयमा छलफल हुने गरेको भन्दै सिसिपिआईटी सँगको सम्झौताले आवश्यकता अनुसार निरन्तर छलफल र संवादको बाटो खुलेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्