२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्र बैंकको पछिल्लो निर्देशनले उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने आशा जगायो : अध्यक्ष ढकाल


2.041k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भएपनि मनोवल बढ्ने आशा जगाएको बताउनुभएको छ ।

आईतबार नेपाल जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत भेला–२०८० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरुलाई ढिलै भएपनि बुझ्ने कोशिस गरेको बताउनुभयो । उहाँले लामो समयदेखि घरजग्गा कारोबारमा कित्ताकाट खोल्न र शेयर बजार कर्जा सीमा बढाउन आग्रह गरेपनि नमानेको तर अहिले आफूले गरेको निर्णय गलत भएको भन्दै परिमार्जन गर्नु स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने काम गरे अर्थतन्त्र पनि सकारात्मक बन्ने बताउनुभयो ।

उहाँले मुलुकको अर्थतन्त्र निजी क्षेत्रको कारणले मात्रै नभएर सरकार र नियमनकारी निकायहरुको नीतिको कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले नेपालको जनसंख्याको १ प्रतिशत मानिसहरु पुँजीबजारमा आवद्ध भएकाले सरकारले बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।

त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले घरजग्गा व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय भएकाले उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले घरजग्गा व्यवसायले विश्वलाई सहरीकरण गर्ने काम गर्ने भन्दै नेपाललाई पनि शहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको बताउनु भयो। उहाँले सरकारले घरजग्गा व्यवसायीहरुलाई हेलचेक्राँई गर्ने र प्रतिष्ठित व्यवसायीहरुलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम भइरहेको बताउनुभयो । उहाँले घरजग्गा व्यवसायलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै,नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले प्रत्यक्ष लगानीको अवधि र रकम तोक्नुपर्ने बताउनु भयो । उहाँले अन्य क्षेत्रमा अवधि तोकेर लगानी गर्न प्रोत्साहन गरिरहेको अवस्थामा घरजग्गा क्षेत्रमा भने अवधि नतोकेकाले अवधि तोकेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले यस क्षेत्रलाई २०८४ सम्ममा अनिवार्य प्रत्यक्ष लगानीका लागि यति प्रतिशत लगानी गर भन्ने निर्देशन आउनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले प्रत्यक्ष लगानीको निर्देशन दिने हो भने बजारमा १० खर्ब रकम आउने र अर्थतन्त्र चलायमान हुने दाबी गर्नुभयो। उहाँले अहिले घरजग्गा बिक्री नहुँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताउनु भयो । उहाँले राष्ट्र बैंकको निर्देशनले कर्जाको अनुपात बढाएको तर उक्त व्यवस्थाले कारोबारमा कुनै प्रभाव नपर्ने बताउनुभयो ।