
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताउनुभएको छ ।
सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आफूले उपभोक्ताको नाममा बद्मासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताउनुभयो । मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले कालो बजारी गर्नेहरुलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानूनकै अभाव रहेको गुनासो समेत गर्नुभयो । मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै मेकानिजमनै नभएको पनि पटकपटक बताउनुभयो ।
बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गर्नुभएको थियो । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले चिनी जस्ता चाडपर्वमा अतिआवश्यक बस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो ।
नेपाली कांग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरेपनि सरकारले जनताको चाहना अनुसार सस्तो मूल्यका वस्तुहरुको उपलब्धता गराउन नसकेको बताउनुभयो । उहाँले मूल्यवृद्धि निरन्तरको प्रक्रिया जस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागि नपरेका गुनासो गर्नुभयो ।
सांसद केसीले मुलुकमा वित्तिय अराजकताको शुरुवात भइरहेकोतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्