११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


काठमडौं महानगरपालिकाले आजदेखि कुकुर र बिरालाको बन्ध्याकरण गर्ने


533
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकका कुकुर र बिरालाहरुको बन्ध्याकरण तथा खोप अभियान सुरु गर्ने भएको छ ।

मेयर बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल माफर्त महानगरपालिकाका ९ वटा वडामा मंगलबारदेखि सामुदायिक कुकुर तथा बिरालाहरुको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सुरु गर्ने जानकारी दिनुभएको हो ।

वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट एकै साथ यो अभियान चलाउने पनि मेयर साहले बताउनु भएको छ । आगामी तीन महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण र १६ हजार कुकुर बिरालालाई रेविजविरुद्धको खोप दिइने पनि उहाँले जानकारी दिनुभएको छ ।

बन्ध्याकरण तथा खोपका लागि सम्बन्धि वडामा रहेका सामाजिक संघ संस्थाहरु परिचालन गरिने भएको छ । जनप्रतिनिधि र वडाबाट खटिएका कर्मचारीको रोहवरमा कुकुर र बिराला समातेर बन्ध्याकरण तथा खोप लगाइने छ भने बन्ध्याकरण गरिने कुकुर र बिरालालाई आवश्यक आराम गराएपछि मात्रै छाडिने पनि मेयर साहले बताउनु भएको छ ।

खोप दिइएका वा बन्ध्याकरण गरिएका कुकुर बिरालाहरुको कानमा संकेत चिन्ह राखिने छ ।