२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


इजरायलमा नेपालीको मृत्युले मुलुक शोकमा, तालुक मन्त्रालयका मन्त्री विदेश भ्रमणमा व्यस्त


585
Shares

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परि १० जना नेपाली नागरिकको मृत्युले मुलुक नै शोकमा डुबेको छ । तर, यस विषयमा प्रत्यक्ष सरोकार राख्ने श्रम र अर्थमन्त्री भने विदेश भ्रमणमा व्यस्त छन् । अन्तराष्ट्रिय अभ्यास अनुसार जुनसुकै देशमा आपतविपत पर्दा भ्रमण छोट्याएर स्वदेश फर्कने गर्छन् तर, नेपालका मन्त्रीहरुको भने यसतर्फ ध्यान गएको देखिँदैन ।

गत शनिबार हमास समूहको आक्रमणमा परि इजरायलमा १० जना नेपाली नागरिकले मृत्युवरण गर्दा १ जनाको अवस्था अज्ञात छ । घटनाको ३ दिन पछिमात्र अलपत्र परेका ५० जना नेपाली नागरिकलाई इजरायल सरकार सुरक्षित ठाउँमा स्थानातन्तरण गर्न सफल भयो । सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी स्वदेश फर्किनका लागि सरकारसँग हारगुहार गरिरहेका छन् ।

यद्दपी वैदेशिक रोजगार र श्रमसँग प्रत्यक्ष सरोकार राख्ने श्रममन्त्री शरत सिंह भण्डारी र अर्थमन्त्री प्रकाशशरण महत भने यतिखेर विदेश भ्रमणमा व्यवस्त हुनुहुन्छ । श्रममन्त्री भण्डारी एक साता देखि सचिवसहितको टोलीसँग युरोप भ्रमणमा हुनुहुन्छ । रोमानिया र जर्मनीसँग द्विपक्षीय श्रम सम्झौता गर्न भन्दै श्रममन्त्री भण्डारी युरोप भ्रमणमा जानुभएको हो ।

श्रममन्त्री भण्डारी इजरायलमा भएको घटना अगावै विदेश भ्रमणमा निस्कनुभएको हो भने अर्थमन्त्री प्रकाशशरण महत इजरायल आक्रमणको तेस्रो दिन सोमबार मोरक्को उड्नु भएको हो । अलपत्र परेका नेपालीले उद्धारका लागि गरिरहेको हार गुहारको वेवास्ता गर्दै उहाँ विदेश उड्नु भएको हो ।

यसले सरकारमा रहेका मन्त्रीमा आफ्ना नागरिकप्रति समवेदना नभएको दर्शाएको छ । अर्थमन्त्री महतको मोरोक्कको भ्रमण ४ महिनायताको ५ औं विदेश भ्रमण हो । पछिल्लो डेढ महिनामा मात्रै उहाँ ३ पटक विदेश पुगिसकेका छन् । महत अक्टोबर ९ देखि १५ सम्म हुने विश्व बैंकको बैठकमा सहभागी हुन मोरक्को जानुभएको हो ।

सरकारका मन्त्री उच्चस्तरिय विदेश भ्रमणको नाममा विदेशमा रमाईरहेका छन् । मुलुकमा दैवि विपत्तिलगायत आपत विपत पर्दां शक्तिाशाली राष्ट्रका राष्ट्रध्यक्षले कयौं महत्वपूर्ण भ्रमण स्थगित गरेको, भ्रमण छोट्याएर रातारात फर्केका प्रशस्त उदाहरण छन् । तर, हामीकहाँ युद्धमा परि अर्काको भूमीमा ज्यान गुमाउनु पर्दा र अलपत्र पर्दा उद्धारका लागि अग्रस्थानमा हुनुपर्ने महत्वपूर्ण मन्त्रालय धानिरहेका भनिएका मन्त्रीहरु नै बेखबर झै विदेश भ्रमणमा व्यस्त रहँदा नागरिकप्रतिको जवाफदेहीतालाई लिएर प्रश्न उब्जिएको छ ।