
काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डको विस्तार कार्य पाँच वर्षमा आधा पनि सम्पन्न भएको छैन ।
यो सडकखण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको नवलपरासीको गैँडाकोटदेखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटरमा भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत मात्र भएको हो ।
साढे तीन वर्षमा सडक निर्माणको कार्य सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको थियो । पटक पटक म्याद थप्दा पनि सडक निर्माणको भौतिक प्रगति हुन सकेको छैन ।
आयोजनाले भने थप गरिएको समयमा काम सम्पन्न गर्ने र सडक कालोपत्रे गर्ने कामलाई समेत निरन्तरता दिएको जनाएको छ । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी पुलदेखि बुटवलसम्म १ सय १५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्