२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


चालुपुँजी कर्जा मार्ग निर्देशनको कारण थप लगानी हुन सकेन : निजी क्षेत्र


338
Shares

काठमाडौं । चालु पुजी कर्जा मार्ग निर्देशनको कारण बैंकमा भएको लगानी योग्य रकम लगानी हुन नसकेको निजी क्षेत्रले बताएको छ ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा बोल्दै निजी क्षेत्रका छाता संगठनहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपाल राष्ट्र बैंकले लागू गरेको चालुपुँजी कर्जाको कारण उद्योगी व्यवसायीहरुले ऋण लिन नचाहेको बताए । निजी क्षेत्रका छाता संगठनहरुले बजारमा पुँजी लगानी नभएसम्म मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै राष्ट्र बैंकले बैंकमा रहेको लगानीयोग्य रकम लगानी पर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ५ खर्ब जति बैंकहरुमा अधिक तरलता रहेपनि कर्जा लिने व्यवसायीहरु नभएको बताउनुभयो । उहाँले बैंकको अधिक तरलतालाई लगानीमैत्री वातावरण बनाउन राष्ट्र बैंकले प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष मल्लले बैंकहरुमा भएको रकम लगानी हुन नसक्दा अर्थतन्त्रमा संकुचन आउन थालेको बताउनुभयो । उहाँले सरकारले घरजग्गा कित्ताकाट खोले पनि निर्देशिका र नियम बनेको छैन भन्ने नापी र मालपोत कार्यालयहरुले काम नगरेको गुनासो गर्नुभयो ।

अध्यक्ष मल्लले प्रधानमन्त्रीले निर्देशन नै दिएर एक्सनमा योजना बनाएर काम गर्न लगाउन माग गर्नुभयो । उहाँले घरजग्गा कारबोर खच्किँदा अर्थतन्त्र पनि मन्दीमा गएको भन्दै घरजग्गा कारोबारमा रहेका समस्या तत्काल समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रबहादुर पाण्डेले चालुपँुजी कर्जा मार्ग निर्देशनको कारण बैंकको लगानी योग्य रकम लगानी हुन नसकेको बताउनु भयो । उहाँले चालुपँुजी कर्जा माग निर्देशनले व्यवसायीहरुले कर्जा लिने र लगानी कटौती गरेको बताउनुभयो ।

अध्यक्ष पाण्डेले बैंकहरुमा लगानी योग्य पुँजी भएपनि व्यवसायीहरुले ऋण लिन सकेको बताउनुभयो । उहाँले बैंकहरुमा लगानी योग्य पुँजी लगानी हुन नसक्नु अर्थतन्त्रको समस्या भएको बताउनुभयो । उहाँले लगानी नगर्ने र खर्च नगर्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउनुभयो ।

अध्यक्ष पाण्डेले बजारमा पैसा नगएपछि अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभयो । उहाँले अहिलेकै अवस्थाले निरन्तता पाउने हो भने देशमा आर्थिक गतिहिनत गहिरिने सम्भावना रहेको बताउनुभयो ।

अध्यक्ष पाण्डेले अर्थतन्त्रमा कन्जक्सन डाउन ब्रेकको स्थिति सिर्जना भएको भन्दै व्यक्ति तथा घर परिवारले अत्यावश्यक बाहेकमा खर्च र उपभोग स्तरमा कटौती गरेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा सरकारले तत्काल प्रभावकारी कदम नचाल्ने हो भने छिटो अवधिमा नै डिप्रेशनमा जाने सम्भावना रहेको बताउनुभयो ।

अध्यक्ष पाण्डेले मुलुकको अर्थतन्त्र डिप्रेशनमा जानबाट रोक्न मौद्रिक र वित्तीय संरचनागत नीतिहरु कार्यान्वयन र सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले विदेशी ऋण दाताको आर्थिक नीति निर्देशन अर्थतन्त्रको लागि उपयुक्त नहुने भन्दै विदेशी ऋण दाताको आर्थिक नीति निर्देशन सरकारले मान्दा अर्थतन्त्रमा समस्या आएको निजी क्षेत्रले ठहर गरेको बताउनुभयो । उहाँले सरकारले नेपालको अर्थतन्त्र सुहाउँदो नीति बनाउनु उपयुक्त हुने बताउनुभयो ।