
काठमाडौं । चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव गराएर महंगी बढाइएको भन्दै प्रतिनिधि सभा सदस्यहरुले महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले चाडपर्वको बेलामा महंगी बढेको बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी गरिएको भन्दै कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् ।
बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताउनुभयो । उहाँले कालोबजारी मौलाएको भन्दै सरकारले कालोबजारीलाई प्रश्रय दिइरहेको बताउनुभयो । जनतामाथि खेलवाड नगर्न सरकारलाई चेतावनी समेत दिनुभयो ।
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारले महंगी नियन्त्रण गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले महंगी नियन्त्रण गर्छ भन्नेमा जनतामा आशा पनि नरहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत ठगिको घटना पनि भइरहेको भन्दै प्रविधिको प्रयोग गरी ठग्ने कार्यको अन्त्य गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उपभोग्य वस्तुको मूल्य अकासिएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । कालोबजारी बढेको, कृतिम अभाव भएको र गाडी भाडा बढाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभा सदस्य दीपा शर्माले नेपाल भारत सिमानाकामा सुरक्षाकर्मीले चेकजाँचको नाममा हैरानी दिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले किसानले महिनौँदेखि दुधको मूल्य नपाएका भन्दै किसानको रकम तत्काल भुक्तानी गर्न माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले चाडपर्वको समयमा बजार भाउको नियन्त्रण हुनुपर्ने बताउनुभयो । उहाँले दैनिक उपभोग्य सामग्रीहरुको अभावको परिपूर्ति गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले महंगी र अभावलाई हटाउन अनुगमन हुनुपर्ने बताउनुभयो । उहाँले सुलभ खाद्यान्न पसलको व्यवस्था गर्न र सुलभ टिकट र यातायातको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले विद्यार्थीहरुलाई नेपालकै विश्वविद्यालयमा शिक्षा प्राप्त गर्न सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेशमा हुन सक्ने अन्य विपद्का घट्नाहरुप्रति सरकार सजग हुनुपर्ने बताउनुभयो । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले गैर आवासिय नेपालीहरुलाई नागरिकता दिनका लागि गैर आवासिय नेपाली कार्ड अनिवार्य गर्नु नहुने बताउनुभयो । उहाँले गैर अवासीय नेपालीहरुले सहज रुपमा नागरिकता पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्