१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उदयपुरमा प्याराग्लाइडिङ सुरु, रातेडाँडामा गरिने प्याराग्लाइडिङ जोखिम कम र राम्रो दृश्यावलोकन


1.17k
Shares

खेमराज दाहाल

उदयपुर । उदयपुरमा साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाका त्रियुगा, चौदण्डीगढी, बेलका र कटारीमा गरिएको प्याराग्लाइडिङका सबै परीक्षण उडान सफल भएका छन् ।

उदयपुरमा प्याराग्लाइडिङ खेल व्यवसायीक बन्दै गएको छ । साहसिक र मनोरञ्जनात्मक खेलको रुपमा लिइएको प्याराग्लाइडिङ उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकामा गरिएका सबै परीक्षण सफल भएपछि व्यवसायीहरूले चासो दिन थालेका छन् ।

उदयपुरको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनार, कटारी नगरपालिका– ७ को पर्यटकीय क्षेत्र मर्जितपुर, चौदण्डीको रानीटार र त्रियुगा नगरपालिका– १० नवउदय सामुदायीक बन रातेडाँडामा प्याराग्लाइडिङ स्टेशन बनाएर उडान भर्ने गरिएको छ ।

हावापानी र मौसमले अत्यन्त प्रभाव पार्ने प्याराग्लाइडिङमा उदयपुरको त्रियुगा नगरपालिकामा पर्ने रातेडाँडाबाट गरिने प्याराग्लाइडिङ भने अन्य स्थानको तुलनामा कम जोखिम र दृश्यावलोकनका लागि पनि उत्कृष्ट रहेको छ ।

त्रियुगामा बाह्रै महिना प्याराग्लाइडिङ गर्न सकिने गरि गरिएको परीक्षण उडान सफल भएका छन् । प्याराग्लाइडिङ उडाउन आएका पाइलट धन कुमार राई अन्य स्थानभन्दा गाईघाट बजार कम जोखिम र दृश्य अवलोकनका लागि उत्कृष्ट रहेको बताउनुहुन्छ । त्यस्तै, अर्का पाइलट नवराज राई यो क्षेत्रमा १२ महिना प्याराग्लाइडिङ गर्नका लागि राम्रो ठाउँ र हावा पानी भएकाले यसलाई स्थानीय सरकारले व्यवसायीक रुपमा लैजानु पर्ने बताउनुहुन्छ ।

प्याराग्लाइडिङलाई व्यवसायीक र व्यवस्थित बनाउने उद्देश्यले फ्लाई कक्षा संचालन गरि पाइलट उत्पादन समेत थालिएको प्याराग्लाईडिङका जानकार त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहाकार जितु रोइलाले बताउनुभयो । पाइलट उत्पादनका लागि फ्लाईङ वन्डर्स प्याराग्लाईडिङ प्रा.लि.मार्फत कार्तिक १० गते देखि २५ गते सम्मका लागि १५ दिने बेसिक कोर्सको कक्षा संचालन गर्ने भएको छ ।

पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर प्याराग्लाइडिङमा नगरपालिकाले लगानी गर्ने त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले बताउनुभयो । त्रियुगा नगरसहित सप्तरी, सिराहासम्मका भूभाग देखिने र प्याराग्लाईडिङका लागि सहज पहुच मार्ग भएका कारण यहाँ प्याराग्लाईडिङका लागि राम्रो स्थान रहेको नगर प्रमुख बस्नेतले बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणबाट प्याराग्लाइडिङ उडानका लागि त्रियुगा नगरपालिकामा अनुमति प्राप्त भइसकेको छ । साहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने प्याराग्लाइडिङका लागि उदयपुरमा राम्रो सम्भावना देखिएको छ ।