
काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा खाद्यान्नको मूल्यवृद्धि भएको यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद सुवेदीले हवाई यातायात र स्थल यातायातमा ठगि हुनसक्ने भन्दै यात्रुको सहज यात्राका लागि ध्यान दिन पनि सरकारसँग आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकहरुको समस्यामा सरकार बेखबर रहेको बताउनुभयो । उहाँले वीर अस्पतालबाट चिकित्सकहरुलाई अन्यायपूर्ण ढंगले निकालिएको बताउनुभयो । त्यस्तै, उहाँले कालोबजारी भइरहँदा पनि सरकार बेखबर बनेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले चाडपर्वको बेलामा सो क्षेत्रमा सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभुति दिलाउनुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपालको उत्पादन पद्धतिमा नयाँ ढंगले सोचेर संरचनागत परिवर्तन गर्न आवश्यक भएको बताउनुभयो । उहाँले विद्यमान आर्थिक संकट र चुनौतीहरुलाई संरचनागत परिवर्तन मार्फत् आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयादशमीको शुभकामना दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भुमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले दशैंको समयमा हुने गाडी दुर्घटनाप्रति सरकार बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले दशैंमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदा झडप हुने घटनाहरु आउने भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले दशैंको समयमा डेंगुको संक्रमण बढेको भन्दै लामखुट्टे मार्नका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल एयरलाइन्सका टिकटहरु महंगो भएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्