
गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थी र एक जना बेपत्ताको स्थितिले सबैलाई दुखित बनाएको छ । यद्यपि आक्रमणपछि विचल्लीमा परेको कारण स्वदेश फर्कने नेपालीहरुको पहिलो टोलीमा संलग्न २ सय ५४ जना नेपाली विद्यार्थीहरु भने शुक्रबार बिहान स्वदेश फर्किएका छन् । उनीहरुलाई लिन परराष्ट्रमन्त्री इजरायलसम्मै पुग्नु भएको थियो भने पर्यटनमन्त्री, नेपालका लागि इजरायली राजदूतसहितका सरकारी प्रतिनिधी र आफन्तहरु ठूलो संख्यामा विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।
शुक्रबारको झिसमिसे बिहानीसँगै युद्धग्रस्त मुलुक इजरायलबाट उद्धार गरी ल्याइएका नेपाली टोली अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पर्यटनमन्त्री सुदन किराँतीले नेपालीहरुको उद्धारका लागि गएका नेपाल एअरलाइन्सका चालकदलका सदस्यहरुलाई ढाकाको टोपी अनि नेपाली टोलीलाई स्वागत गर्नुभएको थियो । त्यो क्षण निकै मार्मिक थियो ।
इजरायलबाट नेपाल फर्कन चाहनेको संख्या अत्यधिक भएतापनि हाललाई २ सय ५४ जनाको टोलीको उद्धार गरी ल्याइएको होे । लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका कृषि अध्ययनका विद्यार्थीहरुलाई युद्धग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन इजरायल सरकारले देखाएको तदारुकता र नेपालस्थित इजरायली राजदुतको भूमिका पनि प्रसंशनीय थियो ।
नेपाल र इजरायल सरकारले आफुहरुलाई स्वदेश फर्काउन चालेका कदमका कारण आफुहरु स्वदेश फर्कन सम्भव भएको विद्यार्थीहरुको भनाइ छ । युद्धग्रस्त क्षेत्रको कहालीलाग्दो अवस्थाका बीच स्तब्ध बनेका परिवारजन पनि मृत्युको मुखमा परिसकेको आफन्तको मुहार देख्न पाउँदा दंग छन् ।
यही टोलीसँगै घाइते अवस्थामा फर्केका धनबहादुर चौधरी इजरायलमा आक्रमणमा परेको ९ घण्टापछि उद्धार भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- ‘हाम्रा एक जना सार्थीको अवस्था अझैं अज्ञात छ उहाँको छिटै खोजी गरियोस् ‘ ।
इजरायलको सम्भावित परिस्थितीलाई मध्यनजर गर्दै स्वदेश फर्कनेहरुको संख्या अझै बढी रहेको छ । अहिले नै पनि अनलाइनमा नाम टिपाएका तर फर्किन नपाएको संख्या अत्यधिक छ । स्वदेश फर्कन चाहने अरुलाई पनि ल्याउने प्रबन्ध गरिने बताइएको छ । इजरायलमा छुटेका नेपाली नागरिकलाई फेरि नेपाल ल्याउने परराष्ट्रमन्त्री एनपी साउद बताउनुभयो ।
हमास आक्रमणमा १० जना होनहार नेपाली विद्यार्थीले जीवन गुमाएका छन् । अझै प्रक्रिया नटुंगिएको कारण उनीहरुको शव ल्याउन पनि सकिएको छैन । सरकारले उनीहरुको शव सकेसम्म चाँडो ल्याउन, अझै पनि बेपत्ता रहेका एक जना विद्यार्थी विपिन जोशीको खोजी गर्न र स्वदेश फर्कन व्यग्र रहेका अन्य नेपालीलाई पनि सकेसम्म चाँडो नेपाल ल्याउन उत्तिकै सक्रियता देखाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्