२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेशमा आज दुवै पक्षका सांसदको हस्ताक्षर सनाखत हुँदै


598
Shares

काठमाडौं । कोशी प्रदेश प्रमुख कार्यालयले सांसदहरूको सनाखतका लागि शनिबार बिहानको समय तोकेको छ ।

शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई परिचय खुल्ने परिचयपत्रसँगै उपस्थित हुन भनेको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताउनुभयो ।

कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७/४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेसका ८ सांसद र नेकपा एमालेका सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका थिए । प्रदेश प्रमुख खापुङले भने सनाखतका लागि समय लम्ब्याएर शनिबार बोलाउनु भएको हो ।

शुक्रबार ५ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिइएको थियो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र काँग्रेस सांसद केदार कार्कीले ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुबैतिर उल्लेख छ । दुबैतिर हस्ताक्षर रहेको कारण सनाखतका लागि बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।