
काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-९ का ३० वर्षीय मोहन टुडु, ३७ वर्षीय सोम मर्डी र ३२ वर्षीय अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका छन ।
उनिहरुलाई झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो ।
उनिहरलाई प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी झापाको गौरीगञ्ज गाउँपालिका-२ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-०१५ प ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक-५ का २५ वर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारी स्कुटर सहित नियन्त्रणमा लिएको हो ।
लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको प्रदेश प्रहरी प्रमुख बास्तोलाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्