२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नयाँ हुँ भन्ने राजनीतिक दलले आफूलाई पुष्टि गरेर देखाउनु पर्छ : विश्वप्रकाश शर्मा


585
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उहाँले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गर्नुभयो ।

दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताउनुभयो । उहाँले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका नेता राम कार्कीले मुलुकमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि एकतावद्ध भएर अघि बढन काँग्रेस–कम्युनिष्ट पार्टीहरुलाई आग्रह गर्नु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र सकिन लागेको भन्दै त्यसलाई बलियो बनाउन पनि समाजवादका पक्षधर राजनीतिक पार्टीहरु जुर्मुराएर उठनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा –माले)का महासचिव सिपी मैनालीले ठूला राजनीतिक दलहरुले विगतमा गरेका गल्ती, कमजोरीहरुलाई सच्याउँदै अघि बढनुपर्ने बताउनुभयो । उहाँले मिशन २०८४ लाई सफल बनाउन पनि ठूला राजनीतिक दलहरुले विचार, राजनीतिक र शैलीमा आमूल सुधार गरेर अघि बढनुपर्ने बताउनुभयो ।

महासचिव मैनालीले ठूला दलहरुले आफूलाई पुनर्विचार नगरेकै कारण नयाँ राजनीतिक दलहरुले खेल्ने अवसर पाएको जिकिर समेत गर्नुभयो ।