
काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सक कुटिएको घटनामा पक्राउ परेकामध्ये दुईजनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
न्यायाधीश ध्रुवकुमार पियाको इजलासले सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनीष थापा र विजय गुरुङलाई भने जनही एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । ।सो अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि चिकित्सक र मृतकका आफन्तबीच तनाव उत्पन्न भएको थियो ।
त्यसले राजनीतिक रूप लिँदा त्यहाँ खटिएका एक प्रहरी निरीक्षक निलम्बनमा र एक डीएसपी अकस्मात् काज सरुवामा परेका थिए ।
पीडितका आफन्त र चिकित्सक पक्षबीच अस्पताल प्रशासनको रोहबरमा यही असोज ११ गते ६ बुँदे सहमति पनि भएको थियो । त्यसका बाबजुद कास्की प्रहरीले असोज १२ गते थप आठजनालाई पक्राउ गरेको थियो । असोज ८ गते पोखरा महानगरपालिका–५, मालेपाटनका विनय गुरुङलाई पक्राउ गरिएको थियो ।
अस्पताल परिसरभित्रको सीसीटीभीमा देखिएका अनुहारमध्ये थप १० जनालाई पहिचान गरिएको प्रहरीले जनाएको छ । ती १० जनालाई नै प्रहरीले फरार सूचीमा राखेको छ । पहिचान नखुलेका अरू व्यक्ति पनि फरार सूचीमा रहेका कास्की प्रहरीले जनाएको छ । उनै गुरुङसहित पोखरा–१७ का छावा भनिने सुशील कार्कीलाई पनि अदालतले थुनामा पठाउन आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्