
-सन्जिव कार्की
प्रधानमन्त्री केपी शर्मा ओली ओली बंशमा संयोग बस जन्मेका हुन । मान्छे कुनै पनि बंशमा संयोगबस जन्म लिन पुग्ने हो । संजोगले जन्म लिए पनि उसको त्यो कुल, बंश र परम्परामा केही दायित्व निर्वाह गर्नुपर्ने सामाजिक, सांस्कृतिक र नैतिक भुमिकाहरु हुन्छ्न् । मान्छे समाज भन्दा पर गएर रहन सक्दैन पनि । यस्तै भुमिका र दायित्व बीच प्रधानमन्त्रीले देशको सरकारी भवन प्रधानमन्त्री निवास बालुवाटारको दुरुपयोग गरे । भन्नेहरुले त यो सदुपयोग नै भनेर तर्क गरेको पनि भेटियो र भने पनि उनी आफू बस्ने ठाँउमा कार्यक्रम हुनु दुरुपयोग होइन ।
उनी बस्ने ठाँउ कार्यक्रम गर्ने उपयुक्त र उचित स्थान हो । उचित ब्यबस्थापन सहितको स्थान भनेर नै उनको लागि सरकारले यो ब्यबस्था गरेको हो । तर प्रश्न उठछ कुन कार्यक्रम चैं उचित हो कुन होइन ? देश र जनताले तिरेको करबाट कुनै एउटा बंश पालित पोषित हुने चलन ठिक हो ? बंशबादको नाममा राज्यको ढुकुटी रित्याउने र राज्य संयन्त्र प्रयोग गर्ने काम अनि प्रधानमन्त्री स्वयं यसमा अग्रसर हुनु जायज हो र ? प्रधानमन्त्री भइ सकेपछि उनको जीवन पुर्णतया सार्वजनिक हो हुनुपर्छ ।
कुनै बंश, कुल, परम्परा र साँगुरो घेराभित्र मात्र बस्न सुहाउन्न । समग्र देशको प्रधानमन्त्री भइ सकेपछि उसको दायित्व सानो घेरा, बंश कुल पार्टी विशेष र कार्यकर्ता विशेषमा होइन देश विशेषमा केन्द्रित हुनुपर्छ । राज्यको शक्ति सेवा र स्रोत सबैको पहुँचमा पुर्याउनु पर्छ । नकी निहित स्वार्थमा मात्र ? प्रधानमन्त्री त देशको हुन्छ साझा हुन्छ नि होइन र ? प्रधानमन्त्री त हिजो उनलाई चुनाव हराउन दिलो ज्यानले लाग्ने विरोधी दल र कार्यकर्ताको पनि हो । कसैलाई भोट नै नहाल्ने सर्वसाधारणको पनि हो । प्रधानमन्त्री भइ सकेपछि उनले कतिपय निजीकुरा पनि भुल्नु पर्ने बाध्यता र परिस्थितिमा हुन्छन् ।
याद गर्नुस प्रधानमन्त्री ज्यु, तपाईंको आफ्नो निजी दुःखमा दुख्ने, रुने र खुसीमा दिल खोलेर हास्ने बैयक्तिक स्वतन्त्रता पनि निर्बाध प्रयोगमा ल्याउन नसक्ने बाध्यता र अप्ठ्यारो बीच चल्नुपर्छ । सार्वजनिक र उच्चस्तरीय ओहोदाको यो बैयक्तिक स्वतन्त्रता हरण हुने अवस्था हो । प्रधानमन्त्री हुने पनि मान्छे नै हुन उसको पनि निजि जिन्दगी र सुख दुःखका मेलोहरु हुन्छन् । दुःखमा उनलाई पनि अरु मान्छेलाई जस्तै रुन मन लाग्छ सुखमा दिल खोलेर हाँस्न मन लाग्छ । खुसीमा रमाइलो वातावरणमा नाच्न मन लाग्छ । तर सामाजिक उच्च ओहोदाको कारण जुन जहाँसुकै अरु मान्छेलाई झैं उनलाई त्यो अवसर मिल्दैन अप्ठ्यारो हुन्छ । सामाजिक आचारसंहिता र सुरक्षाको कुरा जोडिएको हुन्छ । सजिलो छैन प्रधानमन्त्री हुन यो अवसर जो कोहीले पाउदैनन् अनि सजिलो छैन प्रधानमन्त्रीको भूमिका खरोसँग सम्पादन गर्न ।
अप्ठ्यारो र जटिलता बीच नै प्रधानमन्त्रीको अधिकांश समय ब्यतित भएको हुन्छ । उनको पल पल महत्वपूर्ण र सार्थक हुनुपर्छ । सानो समूहको स्वार्थ र बंशको, आ–फ्नाको लागि मात्र देशको महत्वपूर्ण समय खर्च हुनु भनेको देश बर्बादीको बाटोमा जानुको निकृष्ट उदाहरण हो । जातीय अहम् र परम्पराको बिजारोपण मलजल र गोडमेल गर्नु हो । जसले प्रकारान्तरमा जातीयताको पक्ष पोषण गर्छ । शनिबार बालुवाटार प्रधानमन्त्रीको सरकारी निवासको दृश्य देख्दा देश नै लज्जित हुने स्थिति देखियो ।
नो ओली नो इन्ट्री ! देशको कार्यकारी प्रधानमन्त्री निवास बंशबन्धुको घेरामा पर्नु , ओली बाहेक अरुलाई नो ओली ?
नो इन्ट्री ! भनेर सुरक्षाकर्मीले गेटबाट नै फर्काएको देख्दा लाग्थ्यो हामी बंशबादका बादशाहबाट शासित हुँदैछौ । के कम्युनिस्ट पार्टी लगायतको दुई तिहाईको सरकारको प्रगतिशिलता बंशवाद हावी हुनु हो ?
प्रधानमन्त्री केपी ओली यो देशका ‘ओली’हरुको मात्र प्रधानमन्त्री हुन् भने उनले ओलीहरुकोः वंश भेला प्रधानमन्त्री निवास बालुवाटारको किचनमै आयोजना गरे पनि कसैलाई पनि सरोकार हुँदैनथ्यो । तर, उनी यो देशकै प्रधानमन्त्री भएकाले कुनै अमुक जात, थर या गोत्रको भेला जनताको करबाटै संचालन हुने प्रधानमन्त्री निवासलाई बनाउनु अनुचित मात्र हैन अनाचार पनि हो । प्रधानमन्त्री निवास न त पार्टी प्यालेस हो, न पिकनीक स्पट । न कुनै डिस्को र रोधीघर ? बहुजातीय, बहुभाषिक, बहुधार्मिक मुलुकमा आफ्नै वंशलाई मात्र बालुवाटारमा प्रश्रय दिएर प्रधानमन्त्रीले के सन्देश दिन खोजेका हुन ?
लोकतान्त्रिक ब्यबस्थामा एक जात थरको कब्जामा बालुवाटार पर्नु निश्चय नै घीनलग्दो संस्कृतिको शुरुवात त विगतको राजतन्त्रको झल्को हो । ओली बन्धुहरुको भेला पाँचतारे होटलमा गरे हुन्छ, ओली बन्धुहरुप्रति मेरो गुनासो छैन । तर प्रधानमन्त्री ओली त म गैरओली भए पनि मेरो पनि प्रधानमन्त्री हुन । उहाँहरुको भेला, बैठक, सभा सम्मेलन टुँडीखेलमा गरे हुन्छ । माइतीघर मण्डलामा गरे हुन्छ । कुनै पनि सार्वजनिक ठाँउमा गर्न छूट छ । तर ओली थरका मान्छे प्रधानमन्त्री हुँदैमा उनको सरकारी निवासलाई बंश बिर्ता झैं ठान्दै गाइजात्रा देखाउनु चै , सामाजिक, नैतिक, कानुनी र मार्क्सवादी दर्शनको दृस्टीले पनि एकदमै नाजायज हो । घटीया हर्कत र अपसंस्कृतिको थालनी हो ।
राणाकालमा श्री ३ महाराजले दरबारमा आफ्ना भाइभारदारको भेला डाकेजस्तो पो देखियो त ओली बंश भेला । प्रधानमन्त्री निवासमा ओली बंशको ‘खानपिन’ सहितको भेला पनि पुर्ववर्ती सरकारकै निर्णय हो या जनवादी सरकारको पुँजीवादी रुपान्तरण ? कि प्रम निवास ‘ओली क्याटरिङ सेन्टर हो ?’ राज्यदोहनको यो हद देख्दा, सुन्दा मन अमिलो हुदैन कमरेड ?
राष्ट्रपति निवासमा तीज पार्टी ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीहरुको वंश भेला ।
आहा ! ‘सुखी नेपाल, समृद्ध नेपाल । प्रजाबत्सल ‘राजनेता’ कमरेड केपी ओलीको ‘रामराज्य’ शुरु भएको हो त हजुर ? नेपालीका सुखका दिन आएर दुःखका दिन सकिएको लक्षण देखिएको हो अब ? राजनीतिमा नैतिकताको स्थान र सामाजिक व्यबहारको स्थान कहाँ हुन्छ सरकार ? प्रधानमन्त्री ओली ज्यु, तपाईं जनताको करबाट सिन्चिंत धनको माध्यमले आफ्नो मिर्गौला फेरेर बाँचिरहनु भएको छ ।
देशले तपाईंको उपचारको लागि १८ करोड खर्चेको छ अझ कति खर्च उपचारको लागि लाग्ने हो ? यो रकम तपाईंको पार्टी र तपाईंको ओली बंशको मात्रै त होइन त्यसैले तपाईं नेपाली जनताको प्रधानमन्त्री हो, बन्नुस , जनताको प्रधानमन्त्री । देशले ठुलो धनराशी खर्च गरेर ब्यबस्था गरेका सल्लाहकार, विषय विज्ञ समुहको काम सरकारी भात हसुर्नु र सेवा सुबिधामा लामो हात गर्नु मात्रै हो कि ? उपयुक्त, उचित सल्लाह, सुझाव र सुझबुझ पुर्ण निर्णय गर्न प्रभाव देखाउने हो ? कसैले त जबाफ देवस ।
प्रतिक्रिया दिनुहोस्