१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा जहाजको टिकट सर्वसाधरणको पहुँच भन्दा बाहिर


1.053k
Shares

काठमाडौं । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ ।

मौसमको प्रतिकुलता र एयरलाईन्सहरुको सिमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधरणलाई टिकट पाउन मुस्किल हुने गरेको हो । नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त विचौलियालाई । सामान्य ढंगले आफँै टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।

सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वीरुकुम की टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहनुभएको छ । नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । रुकुमपूर्व सिस्ने गाउँकी टिका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आउनुभएको थियो । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता उता गरिरहनुभएको छ ।

पूर्वीरुकुम पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर ८ की निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगञ्ज आउनुभयो । जुम्लयाहा नानीहरुकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुंगो छैन । एक महिना भईसक्यो नेपालगञ्ज होटलमा बसेको अझै कतिदिन बस्नुपर्ने हो भन्ने पिरलो उहाँमा पनि देखिन्छ ।

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका वडा नम्बर ४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउनुहुन्छ ।

विदेशी टोली आउँदा दिनमा ५ वटा सम्म चार्टर गर्ने निजी एयरलाईन्सहरुले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरु बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरु हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन् । नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरि स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ ।

निगमको जहाजको उडान धेरै जसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने शंका पनि स्थानीयको छ । निजी एयरलाईन्सहरुले पनि नियमित उडान स्थगित गरेर चार्टर उडान गर्ने गर्दा बल्ल बल्ल टिकट पाएका सर्वसाधरण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन् ।