११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावना सबै गलत हो : उपप्रधानमन्त्री खड्का


1.703k
Shares

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पार्नुभयो ।

उहाँले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गर्नुभयो । उहाँले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताउनु भयो । उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको बताउनु भयो । उहाँले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने बताउनु भयो । उहाँले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गर्नुभयो । अधिकारी माओवादीका पूर्व सैन्य कमाण्डर हुनुहुन्थ्यो । उहाँ माओवादी सेना समायोजनमा क्रममा नेपाली सेनामा जानुभएको थियो ।
यसैगरी उपप्रधान एवं रक्षामन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानून, योजना बनाउँदै अघि बढ्ने बताउनु भयो ।