१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


गैरआवासीय नेपालीलाई नागरिकता बितरण शुरु


13.65k
Shares

काठमाडौं । सरकारले आज मंगलबारदेखि गैरआवासीय नेपाली (एनआरएनए) लाई गैरआवासीय नागरिकता प्रदान गर्न शुरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरेर यसको शुरुवात गर्नुभएको हो ।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो । गृह मन्त्रालयका अनुसार ७७ वटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।