२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कप्तान रोहित भन्छन् – सन्दीप बिना खेल्दा असर पर्छ


5.512k
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधवारदेखि सुरु हुने ट्वान्टी–२० श्रृंखलामा सन्दीप लामिछानेबिना खेल्दा असर पर्ने बताए ।

नेपालले घरेलु मैदानमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको शुरुवात गर्दै छ । आफ्ना महत्वपूर्ण बलर सन्दीपबिना नै नेपालले यो श्रृंखला खेल्न लागेको हो ।

श्रृंखला अगाडि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितले सन्दीप नहुँदा असर गर्ने उल्लेख गर्दै यो श्रृंखलापछि उनी टोलीमा फर्किन आशा व्यक्त गरे ।

आगामी अक्टोबर ३० देखि घरेलु मैदानमा हुने ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्वालिफायरको तयारी स्वरूप नेपालले त्रिदेशीय श्रृंखला खेल्न लागेको हो । कप्तान रोहितले उक्त छनोटमा सन्दीप फर्किन सक्ने आशा व्यक्त गरे । उनले सन्दीप नहुँदा टोलीलाई केही असर परे पनि टोली चुनौतिको लागि तयार रहेको समेत बताए ।

नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र हङकङले यो त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोट यात्रामा बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ । नेपालले मुलपानी क्रिकेट मैदानमा चिरपरिचित प्रतिद्वन्दी युएईविरुद्ध जित निकाल्दै सुखद् शुरुवात गर्ने लक्ष्यमा छ ।

कप्तान रोहितले शृंखलाको लागि भारतमा राम्रो तयारी भएको उल्लेख गर्दै राम्रो क्रिकेट खेल्नेमा विश्वस्त देखिनुभयो । नेपालले भारतमा दुई साता अभ्यास गरेको थियो । यस क्रममा नेपालले ट्वान्टी–२० मा नै केही अभ्यास खेल पनि खेल्यो ।

पछिल्ला समय एशिया कपमा पनि ट्वान्टी–२० फरम्याटमा नै क्रिकेट खेलेको र भारत पनि राम्रो अभ्यास पाएकाले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने रोहितले बताउनु भयो ।

आगामी कात्तिक १० गतेसम्म घरेलु मैदानमा हुने श्रृंखलामा १८ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको थियो । नेपालले यो श्रृंखलाबाट नै आगामी छनोटका लागि राम्रो टोली बनाउने उद्देश्यअनुरूपमा १८ खेलाडी समावेश गरेको उल्लेख गरेको छ । कप्तान रोहितले घरेलु मैदानमा हुने श्रृंखलाबाट राम्रो टोली बनाउने उद्देश्यअनुरूप १८ खेलाडी समावेश गरिएको प्रष्ट्याउनु भएको हो ।

एसोसिएट राष्ट्रद्वय युएई र नेपाल चिरपरिचित प्रतिद्वन्दी हो । एकदिवसीस क्रिकेट यस वर्ष मात्र यी दुई देशबीच ६ प्रतिष्पर्धा भइसकेको छ । ट्वान्टी–२० मा भने नेपालले सन् २०२२ को फेब्रुअरीपछि युएईसँग पहिलोपटक प्रतिष्पर्धा गर्न लागेको हो । युएईका कप्तान मोहम्मद वासिमले नेपालविरुद्ध राम्रो क्रिकेट खेल्ने बताएका छन् । उनले नेपाल बलियो टोली रहेपनि यो फरम्याटमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

नेपालले मंगलबार एक कार्यक्रमबीच त्रिदेशीय शृंखलाको ट्रफी सार्वजनिक गरेको थियो । हङकङ भने नेपाल आइनपुगेकाले उक्त ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थिति भएन । नेपाली टोलीका कप्तान रोहित र युएईका कप्तान वासिमले सो ट्रफी सार्वजनिक गरेका थिए । त्यसअघि नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले नेपालीहरूको महान चाडकाबीच क्रिकेट श्रृंखला राखिए पनि खेलाडीहरूले यसलाई नै उत्सवका रूपमा लिएर खेल्ने बताए । साथै उनले मैदानमा आउन सक्ने दर्शकले टोलीको हौसला बढाउने र अनुपस्थित रहने दर्शकले प्रत्यक्ष प्रशारणमार्पmत नै मनोरञ्जन लिने धारणा राख्नुभयो ।

नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक चार गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिष्पर्धा हुने छ । एकअर्कासँग समान दुई खेल खेलेपछि अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । श्रृंखलाको फाइलन खेल कात्तिक १० गते हुने छ ।

श्रृंखलाको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुने छन् । सबै खेलहरू बिहान ११ बजे हुने छ । रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।