
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आम नागरिकको संविधान प्रदत्त मौलिक हक तथा अधिकारको प्रत्याभुतिका लागि निर्धक्क वातावरण सृजना गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।
६८ औं प्रहरी दिवसको अवसर पारेर मंगलवार प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले संविधानमा उल्लेख गरिएका मौलिक हक तथा अधिकारको निर्धक्कसँग उपयोग हुने वातावरण निर्माणका लागि डटेर अघि बढ्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको हो ।
त्यस अवसरमा उहाँले आफ्नो छविमाथि प्रश्न उठने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले सबै श्रेणीका प्रहरीहरुलाई समान र न्यायपूर्ण व्यवहार गरेकोभन्दै त्यसले संगठनलाई एकतावद्ध भई अघि बढ्न महत्वपूर्ण योगदान दिएको दाबी गर्नुभयो । उहाँले संघीयता अनुकुलका प्र्र्र्रहरी संरचना हुने भएकाले प्रदेश प्रहरी कार्यालयसँग सुमधुर सम्बन्ध राखेर अघि बढ्न पनि नेपाल प्रहरीलाई सचेत गराउनुभयो । प्रधानमन्त्री दाहालले विश्व शान्तिका लागि नेपाल प्रहरीको भुमिका बढाउन पनि सरकारले कुटनीतिक पहल गर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले खेलेको भुमिकाको पनि खुलेर प्रशंशा गर्नुभयो । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने सवालमा नेपाल प्रहरी दृढ संकल्पित रहेको बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्