७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बेहुलीझैँ सिँगारियो जनकपुरधाम


390
Shares

काठमाडौं । दसैँ सुरु भएलगत्तै जनकपुरधामलाई बेहुलीझैँ सिँगारिएको छ ।

प्रमुख शक्तिपीठहरुमा फुल र झिलिमिली बत्तीहरूले सिंगारिएको छ भने चहलपहल पनि बढेको छ । राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिर बढी सिँगारिएको छ ।

यसैगरि बौद्धिमाइ, अमरखाना माइ, सोनासति मन्दिरलगायतका अन्य शक्तिपीठहरु पनि आकर्षक बनाइएका छन् । दसैँको पहिलो दिनदेखि नै सबै मन्दिरहरूमा पूजापाठ र दीप प्रज्वलन गर्न महिलाहरूको भीड बढेको छ ।

जनकपुरधामसहित गाउँका विभिन्न स्थानहरुमा माटोको मूर्ति बनाएर पूजा गरिन्छ । मूर्ति राख्न ठाउँ ठाउँमा विशाल पण्डाल बनाइएको छ र जताततै रङ्गीचङ्गी सडक बत्ती जडान गरिएको छ ।

जनकपुरधामस्थित रहेको राजदेवी मन्दिरमा दसैँमा विशेष मेला लाग्दछ । यहाँ मधेसकै सबैभन्दा बढी बोकाको बलि चढ्ने गरेको बताइन्छ । दसैँ मेला भर्न यहाँ गाउँ गाउँबाट मानिसहरू आउने गरेका छन् । दर्शनार्थीहरुको सुरक्षाका लागि विभिन्न स्थानमा सुरक्षाको व्यवस्था गरिएको छ ।