
जनकपुर । मिथिलामा बेग्लै पहिचान बोकेको लोक नृत्यहरुमध्ये झिझिया नृत्यको रौनक छुट्टै छ । दशैँको आगमनसंगै मिथिलामा यो लोकनृत्य गर्ने गरिन्छ । पूर्णतान्त्रिक विधि अनुसार गरिने यो नृत्यको मिथिलामा बेग्लै महत्व छ ।
घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा मिथिलाञ्चलमा भिझिया नृत्य गर्ने परम्परा रहेको छ । बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रहि आएको छ । यसको बनावट र स्वरुपभित्र जादु, टुनामुना, बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । मिथिलाका वरिष्ठ साहित्यकार राजेन्द्र विमलका अनुसार बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो त्यसकै नमूना हो । टाउकोमा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ ।
झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत वातावरणको निर्माण हुन्छ । झिझिया नृत्यलाई कतिपयले अन्धविश्वासको रुपमा समेत प्रचार गर्दै आईरहेका छन् । यस्तै प्रचारका कारण मिथिलाको लोक परम्परा झिझिया नृत्य लोप हुँदै गईरहेको छ ।
झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिने गरिन्छ । त्यस्तै भारतीय मिथिला क्षेत्रमा यो लोकनृत्य गर्ने गरिन्छ । झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट शुरु भएको मानिन्छ । वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कालान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरुप धारण गरेको संस्कृतिविदहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्