
काठमाडौं । वडा कार्यालयको सहयोगमा काभ्रेको बेथानचोक १ का सबै टोलमा लिङ्गे पिङ हालिएको छ ।
वडा कार्यालयबाट पिङ निर्माणका लागि लठारो वितरण गरिएसँगै सबै टोलहरूमा पिङ हालिएका हुन् । दसैँ तथा तिहारमा पिङ हाल्ने र खेल्ने प्रचलन अनुसार पिङ हालिएको हो ।
दसैँ तथा तिहारमा पिङ खेलेर धर्ती छोड्नुपर्ने मान्यता रहेपनि पनि पछिल्लो समय पिङ हाल्ने र खेल्ने प्रचलन घट्दै गएको छ । लिङ्गे पिङ, रोटे पिङको प्रचलन भएपनि अहिले रोटेपिङ देखिन छाडेको छ । केही स्थानमा मात्र राखिने गरेको लिङ्गे पिङ यस वर्ष भने सबै टोलमा राखिएका हुन् ।
पिङ हाल्नका लागि आवश्यक बाबियोको अभाव हुँदा सीमित स्थानमा मात्र पिङ हाल्ने गरिए पनि यस वर्ष वडा कार्यालयले सहयोग उपलब्ध गराएकाले सबै टोलमा पिङ हालिएको हो । परम्पराले निरन्तरता पाओस र संस्कृतिको जगेर्ना होस भन्ने उद्देश्यले लठारो वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्