
काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका-६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा छायानाथ रारा-६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँले घटनाको खबर पाउनासाथ शुक्रबार बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको बताउनुभयो । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।
श्रीदेवीका श्रीमान वैदेशिक रोजगारीमा रहेको बताइएको छ । कसले के उद्देश्यले हत्या गर्यो खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ जानुभएको थियो । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
छिमेकीले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएको हुनसक्ने अनुमान लगाएका थिए । शुक्रबार बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्