१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा मौसमी तथा बेमौसमी तरकारीबाट मनग्य आम्दानी


0
Shares

स्याङ्जा । स्याङ्जाको एउटै गाउँ मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक झन्डै पाँच करोड आम्दानी गर्न सफल भएको छ ।

गल्याङ नगरपालिका–११ जिमुहा गाउँमा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बिउको बिक्री तथा मौसमी, बेमौसमी तरकारी र दूध बिक्रीबाट एक वर्षमा झण्डै पाँच करोड रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।

आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्थाका अध्यक्ष रुमलाल कँडेलले कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि रहेको बताउनुभयो ।

आँधीखोला जलविद्युत आयोजनाबाट सिँचाइको व्यवस्था भएसँगै यो क्षेत्रले कृषिमा फड्को मारेको हो ।

आलुको बिऊ बिक्रीबाट २१ लाख, खाने आलु बिक्रीबाट १२ लाख, मकैको बिउ बिक्रीबाट एक करोड २० लाख, धानको बिउ बिक्रीबाट एक करोड १२ लाख ५० हजार, दूध बिक्रीबाट वार्षिक १ करोड ४४ लाख र बोडी, काउली, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट ६० लाख रूपैयाँ आम्दानी भएको पनि कँडेलले जानकारी दिनुभयो ।

गाउँमै मनग्य आम्दानी हुन थालेपछि जिमुहाका कृषक पछिल्लो समय निकै खुशी देखिएका छन् ।