
काठमाडौं । संघीय संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तिब्र पारेको छ ।
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । यसको निम्ति संघीय संसद सचिवालयले तयारी तिब्र पारेको हो । सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । उहाँले मंगलबार बिहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकिय तयारी पूरा भइसक्ने जानकारी दिनुभयो ।
उहाँले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताउनुभयो । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको उहाँले जानकारी दिनुभयो । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रश्ताव पारित गर्ने उहाँले बताउनुभयो ।
प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद बैठकमै तत्कालै अनुवाद गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राख्ने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्