
कपिलवस्तु । नेपालको पश्चिम तराईमा कपिलवस्तलगायतका जिल्लाहरूमा महिलाले करवा चौथ पर्व मनाएका छन् ।
विवाहित मधेसी महिलाले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यका लागि व्रत बसी करवा चौथ पर्व मनाउने गर्दछन् ।कार्तिक कृष्ण चतुर्थीका दिन निर्जल व्रत बसी पतिको सु–स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्नीहरू दिनभरि नै व्रत बस्ने गर्दछन् ।
टोलका महिलाहरू एक ठाउँमा जम्मा भइ करवा चौथसँग सम्बन्धित कथा सुनेर धूमधामका साथ पूजापाठ गर्दछन् । रात्रिमा चन्द्रोदय भएपछि चन्द्रदेव र गणेश भगवानको पूजा गरेपछि पतिको हातबाट मीठो परिकार ग्रहण गरी व्रत तोड्ने चलन छ ।
कुनै कुनै ठाउँमा पतिको अनुहार चलनीमा हेरेपछि पानी खाएर व्रत तोड्ने गरेको पाइन्छ । खासगरि भारतको उत्तर प्रदेश र विहारसँग जोडिएका नेपाली क्षेत्रमा स्थानीय महिलाले दिनभरि व्रत बसी साँझ पख नयाँ चामलको फारा, आसा, तरकारी, पुरी, खीर खाने चलन छ ।
करवाचौथका दिन दिनभरि उपवास बसेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ ।
यसबाहेक, करवाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्दछन् । यद्यपि बहुसंख्यक महिलाले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्र दर्शनपछि मात्र व्रतको समापन गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्