
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई बाँकी कैद माफी दिने निर्णय उल्ट्याएसँगै उनी नेपालगञ्जबाट पक्राउ परेका छन् ।
उनी बिहिबार नेपालगञ्जबाट पक्राउ परेका हुन् । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगल गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएपछि रिहा भएका थिए । आज बिहिबार कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो ।
सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि आदेश दिएको थियो । सर्वाेच्चको निर्णय पर्खेर बसेका रिगल सर्वाेच्चको आदेशसँगै भाग्ने तयारी गरिरहेका थिए । तर नेपालगञ्ज प्रहरीले उनको निगरानी गरिरहेकाले उनी भाग्न असफल भएको प्रहरी स्रोतको भनाई छ ।
रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
२८ माघ २०७६ मा भएको अदालतको फैसला अनुसार रिगललाई जन्मकैद (वीस वर्ष कैद) हुने भनी ठहर भएको थियो । रिगल २०७२ भदौ ७ देखि थुनामा रहेका थिए । उनलाई २०८० असोज ३ गतेको संविधान दिवसको सन्दर्भमा रिहा गर्दा बाँकी कैद ११ वर्ष ११ महिना ५ दिन भुक्तानी हुनै बाँकी थियो ।
प्रतिक्रिया दिनुहोस्