
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरुलाई राहत, उद्धार र उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीका महासचिव विप्लवले भूकम्प पीडितका लागि राहत, उद्धार र उपचारको व्यवस्था मिलाउन ढिलाई नगर्न सरकारसँग माग गर्नुभएको हो । त्यसैगरी उहाँले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाई पीडितलाई राहत दिनका लागि आवश्यक निर्णय लिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल एक्लैको सक्रियता भन्दा पनि पीडितलाई राहत दिनका लागि राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाउने काममा ढिलाई गर्न नहुने तर्क गर्नुभयो । उहाँले विपद्ग्रस्त क्षेत्रमा स्वयंसेवकको रुपमा छिटो भन्दा छिटो सेना र प्रहरीको व्यापक परिचालन गर्न, पीडितका लागि खाद्यन्न, लत्ताकपडा र टेन्टहरुको व्यवस्था गर्न र घाईतेहरुको उपचारका लागि स्थलगतरुपमै स्वास्थ्यकर्मीहरुको परिचालन गर्न पनि सरकारसँग माग गर्नुभयो ।
सो पार्टीले भूकम्प पीडितका लागि सरकारको राहत कोषमा एक लाख जम्मा गरिदिने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसैगरी २५ क्वीन्टल चामल पीडितलाई उपलब्ध गराउने निर्णय गरिएको पनि महासचिव विप्लवले बताउनुभयो । उहाँका अनुसार पार्टीले विपद्ग्रस्त क्षेत्रमा आजैबाट स्वयंसेवकको रुपमा पार्टीका नेता, कार्यकर्ता परिचालन गरिसकेको छ । त्यसैगरी स्वास्थ्यकर्मीको एउटा टोलीलाई पनि विपद्ग्रस्त क्षेत्रतर्फ पठाइको महासचिव विप्लवले बताउनुभयो । आइतबार स्वास्थ्यकर्मीहरुको अर्को टोली पनि पठाउने सो पार्टीले जनाएको छ ।
रुकम पश्चिम र जाजरकोटलाई केन्द्र बनाएर गएराति गएको भूकम्पले ठूलो क्षति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्