२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रातभर त्रासमा जागे जाजरकोटका भूकम्पपीडित


0
Shares

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण त्यहाँका नागरिकले शनिवार रातभर त्रासमै बिताएका छन् ।

उनीहरुमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् । पटक–पटक गइरहेका पराकम्पहरुले उनीहरुको बास सडकमै भएको छ ।

भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्नु परेको उनीहरु बताउँछन् । जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर भत्केका छन् । नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति पुगेको छ । यस्तै छेडागाड, कुशे र बारेकोटका घरहरु पनि क्षतिग्रस्त भएका छन् । यहाँका घरहरु बस्नयोग्य अवस्थामा छै्रनन् ।

भूकम्पबाट नलगाडमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । नलगाडमा मात्रै ५२ जनाको मृत्यु भएको छ । यसपछि भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइतेहरुलाई मात्र सुविधासम्पन्न स्थानमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैगरि गाउँभित्र फोन सम्पर्क हुन नसक्दा पनि अझै घाइते हुनसक्ने अवस्था छ । भूकम्पबाट भौतिकरूपमा भएको क्षतिको विवरण अझ आइसकेको छैन भने केही मृतकको सनाखत अझै हुन सकेको छैन ।

भूकम्पबाट भएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले शनिबार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिइसक्नुभएको छ ।

शनिबार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत र उपचारलाई व्यवस्थित बनाउन टोलीसमेत बनेको छ भने राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।