
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियमित विधि प्रणालीहरुबाट पुनःस्थापनालाई प्रभावकारी ढंगले सम्पादन गर्न नसकिने बताउनुभएको छ ।
आइतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबामा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले पुनःस्थापनाका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचनाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले विगतका अनुभवहरुको पनि समीक्षा गरेर प्रभावकारी ढंगले पुनः स्थापनाको काम अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःस्थापनाका लागि केही दिन अध्ययन गरी निर्णय गरिने बताउनु भयो ।
उहाँले यस पटक भुगोलको अध्ययन गरेर मात्रै बस्ती बनाउने र घर निर्माण गर्ने कुरालाई पनि एउटा निश्चित मापदण्डभित्र ल्याइने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले विपद्पछि मात्रै विपद्का लागि आवश्यक सामग्रीहरु खोज्ने क्रमलाई अन्त्य गर्न ७७ जिल्लामा नै विपद् आउँदा चाहिने सामग्रीहरु संकलन गर्ने संरचना बनाइने बताउनु भयो ।
बैठकमा प्रधानमन्त्री दाहालले विगतका अनुभवहरुको पनि समीक्षा गर्दै २०७२ सालको भूकम्प जाँदा बनाएका प्राधिकरणको कमी कमजोरीको पनि समीक्षा गरेर आगामी दिनका लागि एउटा नयाँ ऐन, विधि, संरचनासहित अझ प्रभावकारी ढंगले पुनः स्थापनाको काम अघि बढाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा भूकम्पको केन्द्रबिन्दुमा भन्दा अन्य स्थानमा बढी क्षति भएको बताउनु भयो । उहाँले उद्धार, राहत र पुनः स्थापना विशेष ढंगले गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले जोखिम अझै कायम रहेकाले सबैले सजग र सतर्क रहनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्