
काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन दोहोरो अंकले घटेको छ ।
गत मंगलबारदेखि ओरालो लागिरहेको शेयर बजार आइतबार पनि २१ दशमलव ४६ अंकले घटेको हो ।
बजार परिसूचक नेप्से आज १८२६ बिन्दुमा थामिएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ५ दशमलव ३६ अंक, फ्लोट इण्डेक्स १ दशमलव ६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ०९ अंकले घटे । आइतबार २८९ कम्पनीको ३५ लाख ५८ हजार कित्ता शेयर ९७ करोड २३ लाख ६७ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।
कारोबार रकमका आधारमा आइतबार नबिल बैंकको संस्थापक शेयर सर्वाधिक ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भयो भने ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भयो ।
आइतबार एनआईसी एशिया लघुवित्तको शेयर मूल्य सर्वाधिक झण्डै ७ प्रतिशतले बढ्यो । हिमालयन लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । नेप्सेका १३ वटा उपसमूहमध्ये आइतबार १२ वटा उपसमूह घट्दा होटल तथा पर्यटन उपसमूह भने हरियो रह्यो ।
आइतबार व्यापार उपसमूह २ दशमलव ११ प्रतिशतले घद्दा बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले घट्यो ।
प्रतिक्रिया दिनुहोस्