२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सरकार गम्भिर छैन’


65
Shares

काठमाडौं । जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत विज्ञ तथा सरोकारवालाले सरकार जलवायु परिवर्तनको असर न्युनिकरण गर्नमा गम्भिर रुपमा नलागेको गुनासो गरेका छन् ।

आइतबार संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र जलवायु परिवर्तनको सवाल सम्बन्धि कार्यक्रममा बोल्दै उनीहरुले जलवायु परिवर्तनको विषय विकास, राजनिति र कुटनीतिको संगम भएपनि सरकारले यसलाई गम्भिर रुपमा लिन नसकेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले नेपाल जस्तो देशले कुनै गल्ति नगरेको भएपनि जलवायु परिवर्तनको असर भोग्नुपरेको बताउनुभयो । उहाँले यसको क्षति न्युनिकरण गर्नको लागि सरकार गम्भिर रुपले लाग्नुपर्ने धारणा राख्नुभयो ।

सिंहले विश्वका ठूला मुलुकले गरेको कार्वन उत्सर्जनका कारण नेपालको पर्वतीय श्रृङ्खलाहरुले जोखिम र क्षति व्यहोर्नु परेको उल्लेख गर्दै त्यसको हानी नोक्शानीको परिपुरण ठूला देशहरुले नै व्यहोर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सानो तयारीले नपुग्ने बताउनुभयो ।

सरकारले महासचिव गुटेरेसको प्रतिवद्धतालाई निरन्तर अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । महासचिव गुटेरेसले नेपालको हिमालको विषयमा आगामि जलवायु सम्मेलनमा बोल्न सक्ने भएकोले नेपालले आफ्नो पाजिसन पेपरमा यो विषय स्पष्ट राख्नुपर्ने बताउनुभयो ।

यस्तै, अमेरिकाका लागि नेपालका पूर्वराजदुत तथा जलवायु परिवर्तन सम्बन्धि क्षेत्रका जानकार डा. अर्जुन कार्कीले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभाव तथा खेती प्रणाली र अन्नपात उब्जनीमा परिरहेको प्रभावकै बारेमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो । उहाँले जलवायु परिवर्तनको बिषय राजनितिक, बिकास र कुटनीतिको संगम भएको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघका महासचिबले नेपालले जलवायु परिवर्तनका कारण हानी र नोक्शानी व्यहोरिरहेको उल्लेख गरेको भन्दै सो बिषय आगामी नोभेम्बरमा हुने कोप २८ मा उठ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

यस्तैगरी, जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आउनुभएका जलवायु तथा वातावरणविद् उगान मानन्धरले जलवायु परिवर्तन सम्बन्धि स्पष्ट नीति भएपनि कार्यान्वयनमा चुनौति रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले जलवायु परिवर्तनको बिषयलाई मुख्य बनाएर काम गर्न नसकेको बताउनुभयो । अझै पनि विश्वका ठूला राष्ट्रहरुले जलवायु परिवर्तनलाई विषय नै बनाउन तयार नरहेको भन्दै उहाँले यसबाट नेपालले भोग्नुपरेको हानी नोक्शानीलाई मुख्य प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महासचिव गुटरेसले नेपालको पक्षमा आवाज उठाइदिएकाले सजिलो भएको भएपनि अन्तर्राष्ट्रिय सहायता आउने क्रम कम हुँदा जलवायुको विषय अझै ओझेलमा पर्न सक्ने बताउनुभयो । उहाँले यस विषयमा डोनर एजेन्सीहरुले केही काम गरेको भएपनि सरकारी तहबाट राम्रो काम हुन नसकेको बताउनुभयो ।

मानन्धरले जलवायु परिवर्तनको सम्बन्धमा भइरहेका कामहरुले निरन्तरता पाउन नसकेको पनि बताउनुभयो । विश्वव्यापी मन्दी र विश्वको ध्यान अन्य विषयहरुमा केन्द्रित हुँदा नेपाल जस्ता मुलुकको विषय ओझेलमा पर्न सक्नेबारे सरकार सचेत हुनुपर्ने बताउनुभयो ।