४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


गृहमन्त्री श्रेष्ठलाई भेट्न समेत पाएन : उपसभापति अर्याल


884
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गर्नुभएको छ ।

रुकुम र जाजरकोटका सिडियोहरुले मन्त्री र सांसदहरुलाई मात्रै स्वागत गर्नुपरेपछि भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा पनि आफूले नपाएको उहाँको गुनासो थियो ।

सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उपसभापति अर्यालले मन्त्री र सांसदहरुलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भएपनि भूकम्प पीडितलाई राहत दिने काममा सिडियोहरुलाई लगाउन पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले सरकार आम उपभोक्ताको हितका लागि जिम्मेवार नभएको आरोप पनि पटक पटक लगाउनुभयो ।

बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले सरकार जिम्मेवार नभएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको बताउनुभयो । उहाँले संसदीय समितिले यस अघिको बैठकमा मात्रै चिनी लगायतका अति आवश्यकीय वस्तुहरुको सहज ढंगले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएपनि सरकारले सो अनुसार कामै नगरेको स्मरण गराउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद हेमराज राईले मुलुक कमिशनतन्त्रको, घुसखोरी, कालोबजारीहरुको, अराजकताको एउटा ठूलो भूमरी भित्र प्रवेश गरेको जस्तो अनुभुति आफूले गरेको बताउनुभयो । सरकार र सरकारी निकायलाई जति अनुगमन गरेपनि उसले इमान्दार ढंगले काम नगरेकाले कारणले उपभोक्ताहरु मारमा पर्नुपरेको उहाँको निष्कर्ष थियो ।

सांसद राईले सरकारले जिम्मेवारी बोध गरेमात्रै उपभोक्ता मारमा पर्ने विद्यमान अवस्थाको अन्त्य गर्न सकिने बताउनुभयो ।