
काठमाडौं । तिहार नजिकिंँदै गर्दा किसानको बारी पनि ढकमक्क फूलेका फूलले सजिएका छन् । तिहारको मुखमा बारीभरी फूल फक्रिदा फूल किसानहरु पनि दङ्ग छन् ।
२३ वर्षदेखि फूल खेती गर्दै आईरहेकी काठमाडौंको ईचङगुकी बिमला तामाङ यति बेला मख्ख छन् । रानीपौवाबाट विहे गरेर ईचङगु आएदेखि नै फूल खेती गर्दै आएकी बिमलाको फूलसँगको सम्बन्ध व्यवसायिक र रहर पनि उत्तिकै छ । आउनै लागेको तिहार र बारीमा ढकमक्क फूलेका सयपत्री, गोदाबरी, मखमली लगाएतका फूलले उनलाई झन् खुशी दिएको छ ।
बिमला जस्तै यस क्षेत्रमा फूल खेती गर्नेहरुको संख्या ठूलो छ । यहाँ परम्परागत तथा व्यावसायिक फूल खेती गरिन्छ । अधिकांशले तिहारका लागि लक्षित गर्दै फूलखेती गर्दै आएका छन् । अन्य समयमा पनि फूलको माग हुने भए पनि तिहारमा नै फूलको माग अत्याधिक हुने गर्दछ । लक्ष्मी पूजा नजिकिँदै गर्दा यँहाका किसान फूलको डोको बोकेर असन बजारतिर जाने गर्दछन् । गत बर्ष तिहार चाडै पर्दा फूल राम्रोसँग फक्रिन पाएको थिएन । यो वर्ष भने फूल दिल फुकाएर फक्रिन पाएको छ । तिहारमा भारतीय फूल रोकियो भने यो वर्ष फूलले राम्रै भाउ पाउने आशामा रहेको दिपक लामा बताउनुहुन्छ ।
मखमली फूल चाँडै नओईलाउने भएकोले किसानले माला बनाएर बेच्न पनि सुरु गरिसकेका छन् । चाँडै ओईलाउने सयपत्री भने तिहारको एक दुईदिन अघि मात्रै टिप्ने गर्दछन् । तिहारमा उपत्यकामा मात्रै २० लाख बढी मालाको माग हुने अनुमान छ । यो वर्ष जसरी फूल फक्रिएको छ त्यसैगरी फूलले बजार पाउने अवस्था भयो भने किसानको खुशी पनि फक्रिने थियो ।











प्रतिक्रिया दिनुहोस्