
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रमा नियमक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या रहेको बताउनुभएको छ ।
मंगलबार पुनर्बीमा कम्पनी लिमिटेडको १० औं वार्षिकोत्सवको अवसर नेपाल पुनर्बीमा स्मारिका विमोचन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले नेपालको बीमा क्षेत्र सुधारको लागि नियमक निकाय बलियो हुन आवश्यक रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले पछिल्लो समय बीमा क्षेत्रलाई नियमन गर्ने निकाय मजबुत हुन नसक्दा समस्या आइरहेको उल्लेख गर्नुभयो । उहाँले बीमाको नियमक निकाय र बीमा क्षेत्र सुधारको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालका ठूला जलविद्युत आयोजना निर्माण हुँन लागेको र जलवायु परिवर्तनको समेत असर बढ्दै गएकाले पुनःबीमा कम्पनी ठूलो महत्व रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले बीमामा निजी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाउनको लागि राज्यको उपस्थिति बलियो बनाएर निजी क्षेत्रमा हुने अनियमिततालाई रोक्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले सरकारी स्वामित्वमा रहेको संस्थाहरुमा जिम्मेवार व्यक्तिहरुले व्यवसायिक हिसाबले काम नगरेको अवस्था रहेको बताउनुभयो ।
पुनर्बीमा कम्पनीले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको हो । सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्